१८ वर्ष चीनमा काम गरेर फर्केका मास्टर-सेफ भन्छन्ः एउटा विशेष स्वाद अझै बनाउन सक्दिनँ
हिजोआज आफ्नो पेसा सम्झिएर मास्टर-सेफ विष्णु मगरलाई आनन्द लाग्छ। आफूले सानैदेखि जानेको कामलाई निरन्तरता दिनपाउँदा ४४ वर्षीय विष्णु सन्तुष्ट छन्।

'गाउँको नाममा रेस्टुरेन्ट खोल्ने कमै हुन्छन्। नामनताको अंग्रेजी हिज्जेमा तीन वटा 'ए' छ, 'ए' राम्रो मानिन्छ,' विदेशीलाई पनि लक्षित गरेर रेस्टुरेन्ट खोलेका विष्णु भन्छन्, 'नमस्ते भन्न जानेका विदेशीलाई नामनता भन्न सहजै हुन्छ भनेर पनि यो नाम छानेको हुँ।'
झन्डै दुई दशक विभिन्न रेस्टुरेन्टमा काम गरिसकेका उनले होटलसम्बन्धी विषय पढेका भने होइनन्। न उनलाई पहिल्यैदेखि पकाउने-खुवाउने काममा सोख थियो।
मेजर नेपालीका विद्यार्थी विष्णुको सेफ यात्रा ठमेलको एक होटलबाट सुरू भएको हो। उनको घरको मुख्य आयस्रोत कृषि हो, पाँच जना छोराछोरीमध्ये कान्छा विष्णु। उनले नामनता गाउँमै ९ कक्षासम्म पढे।
कृषि कर्मले घर व्यवहार चलाउन र पढ्न नसकिने भएपछि विष्णु २०५२ सालमा काठमाडौं हानिए। उमेर भर्खर १५ लागेको थियो। किशोर उमेरमा उनलाई टन्न पैसा कमाउनु थिएन, बस् अध्ययनलाई निरन्तरता दिन चाहन्थे।
काठमाडौंमा उनका दाइ थिए। दुई-चार दिन काठमाडौं घुमेपछि उनलाई यहाँ काम नगरी पढ्न सकिन्न भन्ने लाग्यो। खोज्दै जाँदा उनले ठमेलको वेस्टर्न रेस्टुरेन्टमा काम पाए।
'काठमाडौं पढ्नै भनेर आएँ, तर पढ्न पैसा चाहियो। अनि काम त गर्नैपर्यो,' उनले भने, 'मलाई काम जे भए पनि मतलब थिएन, पैसा कमाएर पढ्न पाए हुन्थ्यो भन्ने थियो।'